‘जुन बुद्धि स्वर्गबाट आउँछ त्यो…विचारशील…हुन्छ ।’ —याकूब ३:१७
लचिला मानिसहरू खुशी मानिसहरू हुन् । तिनीहरू सधैँ एक निश्चित तरिकाले काम गरिनुपर्छ भनी जोड दिने कठोर प्रकारका मानिसहरूको तुलनामा धेरै कम तनाव अनुभव गर्छन् । हठ वा जिद्दीपन यति तनावपूर्ण हुनुको एउटा कारण यो हो कि हामीले अरू मानिसहरूको माध्यमबाट हाम्रा उद्देश्यहरू पूरा गर्नुपर्नेहुन्छ, तर मानिसहरू त सोच विचार गर्ने प्राणी भएकाले उनीहरूका आफ्नै विचारहरू हुन्छन् जुन हाम्राभन्दा भिन्न हुन्छन् । यदि तपाईं काम गर्ने नयाँ तरिकाहरूलाई तपाईंका आफ्नै विचारहरूको व्यक्तिगत अस्वीकृतिको रूपमा हेर्नुहुन्छ यसकारण तिनलाई ग्रहण गर्नुहुन्न भने, महान् चिकित्सक येशूलाई तपाईंमा केही सुधारात्मक शल्यक्रिया गर्न बिन्ती गर्नुहोस् । फरिसीहरू सिद्धतावाद र कठोरपनका प्रतीक थिए । जब तिनीहरूले येशूलाई शबाथ पालन नगरेको आरोप लगाए, उहाँले भन्नुभयो, ‘शबाथ–दिन मानिसको लागि बनेको हो, मानिस शबाथ–दिनको निम्ति होइन’ (मर्कूस २:२७) । प्रश्नः तपाईं कत्तिको लचिलो हुनुहुन्छ ? के तपाईं घरमा यति दुरुस्त हुनुहुन्छ कि तपाईंको परिवार तपाईंका अनन्त प्राथमिकताहरूमध्ये कुनै उल्लंघन गर्ने डरले परै रहन्छ ? के तौलिया सधैँ एक निश्चित प्रकारले पट्याइनुपर्छ ? यदि योजनाहरू परिवर्तन गर्नु आवश्यक प¥यो भने, के यसले तपाईंलाई अस्तव्यस्त बनाउँछ वा तपाईं रोकिएर परमेश्वरको अर्को योजना पनि हुन सक्छ भन्ने विचार गर्नुहुन्छ ? ‘उत्कृष्ठता’ को भेषमा लुकाएर आफ्नो व्यवहारलाई उचित ठहराउने प्रयास नगर्नुहोस् । हो, तपाईं सम्भव भएसम्म उत्तम तरिकाले काम गरिएको हेर्न चाहनुहुन्छ । तथापि, यो पनि बुझ्ने प्रयास गर्नुहोस् कि जब तपाईंको व्यवहार उत्कृष्ठ हुनुको सीमा छोडेर जिद्दी सिद्धतावादी बन्नपुग्छ, त्यसले तपाईंको लागि मात्रै होइन तर अरूको लागि पनि तनाव सृजना गर्छ । यसकारण तपाईंको लागि आजको वचन छ— सहज बन्नुहोस् । अलिकति लचिलो बन्नुहोस् । प्रवाहसँग बहने प्रयास गर्नुहोस् ।
आत्मिक भोजनः १ राजा १०–११ मत्ती १७:१–१३ भजन ४०:९–१७ हितोपदेश ६:६–८
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



