‘बतास जोडले चलेको देखेर…पत्रुस डुब्नै लागे ।’ —मत्ती १४:३०
जब पत्रुस येशूको आज्ञामा डुंगाबाट बाहिर निस्के, उनले पहिले कहिल्यै नगरेको काम गर्दैथिए, एक आश्चर्यजनक काम, जुनचाहिँ पानीमा हिंड्ने काम थियो । जबसम्म उनी विश्वासमा रहे, उनी सफल थिए, तर जब उनको ह्दयमा डर छायो, उनी डुब्न लागे । बाइबलले भन्दछ, ‘तर बतास जोडले चलेको देखेर तिनी डराए, र जब डुब्नै लागे तब तिनले चिच्याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस् ।” तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो, र तिनलाई भन्नुभयो, “ए अल्पविश्वासी, किन शंका ग¥यौ ?”’ (पद ३०–३१) । पत्रुसको गल्ती यो थियो कि उनी आँधीबेहरीको बारेमा सोच्न व्यस्त भए । जब उनले आफ्नो नजिकका मुक्तिदातालाई भुलेर आफ्नो वरिपरिको परिस्थितिमा ध्यान केन्द्रित गरे, उनले आफ्नो विश्वास गुमाए र शंका गर्न थाले । अब्राहामले पनि उनको भन्दा भिन्न तर उत्तिकै कठिन परिस्थितिको सामना गर्नुप¥यो जब उनी लगभग एक सय वर्षका हुँदा उनको छोराको जन्मभयो । तर बाइबलले भन्दछ, ‘परमेश्वरको प्रतिज्ञाबारे कुनै शंकाले उनलाई डगमगाउन सकेन, तर आफ्नो विश्वासमा दह्रिलो भएर उनले परमेश्वरलाई महिमा दिए’ (रोमी ४:२)) । अब्राहामलाई आफ्नो अवस्थाबारे थाहा थियो तर पत्रुसले जस्तो नभई उनले त्यो अवस्थाकै बारेमा सोचि बसेनन् । उनको दृढ र केन्द्रित विश्वासले नै उनलाई सफलतातर्फ अगि बढायो । अनि तपाईंले पत्रुसको गल्ती र अब्राहामको उदाहरणबाट पाठ सिक्न सक्नुहुन्छ । तपाईं आफ्ना परिस्थितिहरूबारे सचेत हुन सक्नुहुन्छ, तर तिनीहरूमै डुब्नुहुँदैन । तपाईंले योजनाबद्ध रूपमा आफ्नो मन येशूमा लगाउन सक्नुहुन्छ, यो विश्वासमा भरोसा गर्दै कि उहाँले तपाईंलाई आवश्यक आश्चर्यकर्म प्रदान गर्नुहुनेछ । यसकारण, तपाईंको लागि आजको वचन छ—येशूमा आफ्नो नजर राख्नुहोस्, उहाँले आफ्नोे वचनमा तपाईंलाई के प्रतिज्ञा गर्नुभएको छ त्यसमा केन्द्रित रहनुहोस्, विश्वासद्वारा हिँडिरहनुहोस् अनि तपाईं जहाँ हुनु आवश्यक छ त्यहाँ पुग्नुहुनेछ ।
आत्मिक भोजनः उत्पत्ति ४२–४३ यूहन्ना १८:१९–४० भजन १४८:१–६ उपदेशक ५:१–३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



