‘छोराहरू परमप्रभुले दिनुभएका उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन् ।’ —भजन १२७:३
एक जना ख्रीष्टियन मनोवैज्ञानिकले यस्तो लेखेका छन्ः ‘केही महिनाअगि मैले एक जना मानिससित कुरा गरेँ जसले आफ्नो जीवनको सबैभन्दा पीडादायी अनुभवहरूमध्ये एउटा वर्णन गरे । सत्र वर्षको उमेरमा उनी आफ्नो उच्च माध्यमिक विद्यालयको फुटबल टोलीका तेजिला खेलाडीहरूमध्ये एक थिए । तर उनका बाबु जो सहरका धेरै सफल व्यक्ति थिए, सधैँ व्यस्त भएको कारण उनको खेल हेर्न आउँदैनथे । चाँडै त्यो वर्षको अन्तिम खेलको समय आयो, जुन राज्य स्तरको च्याम्पनसिप थियो । त्यो ठिटो आफ्नो बाबुलाई त्यहाँ देख्न आतुर थियो । ठूलो खेलको त्यो रात ऊ मैदानमा तयारी गरिरहेको थियो र यसो स्टेडियमतर्फ हेर्दा उसले आफ्नो बाबुलाई अन्य दुई पुरुषसँगै आउँदै गरेको देख्यो । तिनीहरू प्रत्येकले औपचारिक पोशाक लगाएका थिए । तिनीहरू गफ गर्दै एक–दुई क्षण सँगै उभिए, त्यसपछि त्यहाँबाट गइहाले । मलाई यो कथा सुनाउने मान्छे अहिले ५८ वर्षका भइसकेका छन्, तर धेरै अघिको त्यो क्षणलाई सम्झँदा उनको गालाबाट आँसु बगिरहेको थियो । त्यो रातको घटना घटेको चालीस वर्ष भइसक्यो तर अझै पनि इन्कार र पीडा पहिलेझैँ जीवन्त छन् । यो कुराकानीपछि, एउटा बाबुले आफ्ना छोराछोरीको जीवनमा पार्ने अद्भूत प्रभावबाट म फेरि चकित भएँ । जब कुनै बाबु आफ्ना छोराछोरीको जीवनमा संलग्न बन्दैन, जब उसले उनीहरूको लागि प्रेम वा वास्ता देखाउँदैन, त्यसले त्यस्तो शून्यता सृजना गर्छ जुन दशकौँसम्म पुनः प्रतिध्वनित हुन्छ । केही समय पहिले मेरो साथीको बुबाको निधन भएको थियो । शवगृहमा आफ्ना बुबाको शव छेउमा उभिएर उसले भन्यो, “बुबा, मैले तपाईंलाई वास्तवमै कहिल्यै चिनिनँ । हामीले सँगसँगै धेरै माया बाँड्चुँड गर्न सक्थ्यौँ— तर तपाईंसँग मेरो लागि कहिल्यै समय थिएन ।”’ यसकारण आमाबाबु हो, तपाईंका छोराछोरीहरू परमेश्वरका ‘उपहार’ हुन् । उनीहरूलाई अनमोल ठान्नुहोस् र उनीहरूसँग आनन्द मनाउनुहोस् ।
आत्मिक भोजनः गन्ती ११–१३, मत्ती १०:२१–३१, भजन १०७:१७–२२, हितोपदेश ३:२१–२४
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


