‘हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान दे ।’ —हितोपदेश ५:१
सोलोमनले आफ्ना छोरालाई यसो भनेः ‘हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान दे…व्यभिचारी स्त्रीको ओठबाट मह चुहुन्छ र त्यसको बोलीचाहिँ तेलभन्दा चिप्लो हुन्छ । तापनि अन्तमा त त्यो स्त्री पित्तझैँ तीतो, र दुईधारे तरवारझैँ लाग्ने हुन्छे…त्यस्ती स्त्रीदेखि टाढा बस, त्यसको घरको ढोका नजिक नजाओ । नत्रता तिमीहरूले आफ्नो उत्तम बल पराईलाई दिनेछौ र तिमीहरूको उमेर निर्दयीको हातमा पर्नेछ । विदेशीहरूले तिमीहरूको सम्पत्तिमा चैन गर्नेछन् र तिमीहरूका पसीनाको कमाइचाहिँ अर्कैको घरमा भरिभराउ हुनेछ । तब तिमीहरूले भन्नेछौ, “हाय मैले अनुशासनलाई कसरी घृणा गरें र सुधार र हप्कीलाई मेरो ह्दयबाटै लत्याएँ । म पूरै सर्वनाशको खाडलमा आइपुगेको छु र सारा समुदायको सामु निन्दित भएको छु”’ (पद १, ३–४, ८–१०, १२, १४) । असल सल्लाह पालन गर्नुभन्दा दिनु सधैँ सजिलो हुन्छ । सोलोमनको जीवनले यो प्रमाणित गर्छ । उनले हामीलाई बारम्बार र निकै निश्चयतासाथ बताउँछन् कि मूर्खहरू मात्र व्यभिचारमा फस्छन् । तापनि उनी धेरै पत्नीहरू लिनेबारे आफ्नै सल्लाह र परमेश्वरको स्पष्ट चेताउनीलाई गम्भीरतापूर्वक लिन असफल भएः ‘तिनले आफ्नो लागि धेरै पत्नीहरू जम्मा नगरून् नत्रता तिनको मन बरालिनेछ’ (व्यवस्था १७:१७) । सोलोमनले सात सय स्त्रीहरू विवाह गरे । अनि परिणाम के भयो ? ‘तिनका पत्नीहरूले तिनको मन अरू देवताहरूतर्फ फर्काइदिए र तिनी सम्पूर्ण रूपले परमप्रभु आफ्ना परमेश्वरका भक्त भएनन्’ (१ राजा ११:४) । यहाँ एउटा चाखलाग्दो प्रश्न छः के सोलोमनले यो खास विषयको बारेमा यति धेरै भन्नुको कारण उनको आफ्नै जीवनमा यो संघर्ष गर्नुपरेको र जोखिमको क्षेत्र थियो ? कहिलेकहिँ अगुवाहरूले त्यसो गर्छन्ः उनीहरूले आफ्नै जीवनमा देखेका कमजोरीहरूको विरुद्धमा बोल्छन् । एउटा कुरा निश्चित छः यदि सोलोमनले आफ्नो छोरालाई दिएको सल्लाह पालन गरेका भए उनको जीवन कथा धेरै भिन्न हुने थियो । त्यसकारण तपाईंको लागि आजको वचन छ— तपाईंको आफ्नै सल्लाहमा ध्यान दिनुहोस् ।
आत्मिक भोजनः गन्ती १४–१५, मत्ती १०:३२–४२ भजन १०७:२३–३२, हितोपदेश ३:२५–२६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024