‘जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ । “ती तिमीहरूका उन्नतिको निम्ति हुन्…तिमीहरूलाई आशा र भविष्य दिनलाई ।’ —यर्मिया २९:११
परमेश्वरले उनलाई जे गर्न बोलाउनुभएको थियो त्यसमा पावल पूर्ण रूपमा समर्पित थिए । के तपाईं पनि त्यसरी समर्पित हुनुहुन्छ ? सफलताका लागि बाधाहरूको सन्दर्भमा, सामान्यतया हामी आफै हाम्रा सबैभन्दा ठूला शत्रुहरू हौं । परमेश्वरले दिनुभएको सपना पूरा गर्न आवश्यक कदम चाल्दा तपाईंले मूल्य चुकाउनुपर्नेछ । तपाईंले मेहनत गर्नुपर्नेछ । बलिदान दिनु पर्नेछ । तपाईंले सिकिरहनु, वृद्धि भइरहनु, र परिवर्तन भइरहनुपर्नेछ । के तपाईं त्यसो गर्न तयार हुनुहुन्छ ? अधिकांश मानिसहरू त्यसो गर्न तयार छैनन् । उनीहरूले जे गर्न चाहन्छन् त्यो कहिले गर्नेछन् भनी मानिसहरूलाई सोध्नुहोस् त । धेरैले जवाफ दिनेछन् कि उनीहरूले ‘कुनै दिन’ त्यो काम गर्न आशा गर्छन् । अहिल्यै किन त्यो काम नगर्ने ? किनकि तपाईं तयार हुनुहुन्न ? सायद तपाईं तयार हुनुहुन्न । तर यदि तयार नभएसम्म तपाईंले पर्खनुभयो भने, सायद तपाईंले यो काम कहिल्यै गर्नुहुनेछैन । सुरु गरेर मात्र तपाईं तयार हुनुहुनेछ । अनि यदि तपाईं सुरु गर्न इच्छुक हुनुहुन्छ भने, यहाँ केही कुराहरू छन् जसको बारेमा तपाईं निश्चित बन्न सक्नुहुन्छः पहिलो, यो तपाईंले कल्पना गरेको भन्दा भिन्न हुनेछ । दोस्रो, यो तपाईंले सोचेको भन्दा धेरै कठिन हुनेछ । तेस्रो, यो तपाईंले सोचेको भन्दा राम्रो हुनेछ । अमेरिकी हास्यव्यंग्यकार मार्क ट्वेनले भनेका छन् कि मानिसको जीवनमा दुई वटा महान् दिन ती हुन् जुन दिन ऊ जन्मिएको थियो र जुन दिन उसले आफू: किन जन्मिएँ भनी पत्ता लगायो । यदि तपाईं आफ्नो जन्मको कारण पत्ता लगाउन चाहनुहुन्छ भने, परमेश्वरसँग समय बिताउनुहोस् । उहाँको वचनले यसो भन्दछ, ‘“जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ । “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई । तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु । जब तिमीहरूले आफ्नासारा ह्दयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ”’ (११–१३) ।यसकारण आफू किन जन्मिए भनी पत्ता लगाउन परमेश्वरसंग समय बिताउनुहोस् ।
आत्मिक भोजनः रूथ १:८–१८ रूथ २:५–१२ रूथ ३:१–६ रूथ ४:९–१३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



