‘एउटा काँढो मेरो शरीरमा दिइयो ।’ —२ कोरिन्थी १२:७
पावलले यस्तो लेखेः ‘प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्ता नफुलूँ भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत, अर्थात् एउटा काँढो मेरो शरीरमा दिइयो । यो मबाट हटोस् भनेर मैले तीन पल्ट प्रभुसित बिन्ती गरें । तर मलाई उहाँले भन्नुभयो, “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ ।” यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुशीसाथ गर्व गर्नेछु…किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु’ (पद ७–१०) । पावलसँग यति ठूलो विश्वास थियो कि जब उनले प्रार्थना गर्थे, बिरामीहरू निको हुन्थे र मरेकाहरू जीवित हुन्थे । तापनि, परमेश्वरले उनको ‘शरीरको काँढो’ हटाइदिनुहोस् भनी उनले बारम्बार प्रार्थना गरे तर परमेश्वरले हुन्न भन्नुभयो । किन ? उनलाई नम्र बनाइराख्न र उनलाई पूर्ण रूपमा परमेश्वरमा निर्भर बनाउन । हामीलाई थाहा छैन कि पावलको शरीरको काँढो के थियो, तर हामी जान्दछौं कि उनीसँग त्यो किन थियोः ‘प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्ता नफुलूँ भनेर’(पद ७) । जब परमेश्वरले तपाईंलाई धेरै आशिष् दिनुहुन्छ, तब योसँगै घमण्डको जोखिम पनि आउँछ । परमेश्वरको निम्ति, त्यस्तो घमण्डले तपाईंलाई अयोग्य बनाउँछ । तपाईंको औंलामा काँढा बिझेको छ भने, यो दुख्छ र तपाईंलाई निरन्तर पोलिरहन्छ भन्ने कुरा तपाईंलाई थाहा छ । के तपाईं त्यो काँढोसाथ जिउन सक्नुहुन्छ ? हो । के तपाईंलाई त्यो काँढोसाथ जिउनु नपरेहुन्थ्यो भन्ने लाग्छ ? हो । पावल के भन्छन्, ध्यान दिनुहोस्ः ‘एउटा काँढो मेरो शरीरमा दिइयो ।’ पछि गएर उनले आफ्नो काँढोलाई अनुग्रह वृद्धि गराउने साधनका रूपमा मात्र लिएनन्, तर एउटा यस्तो वरदान ठाने जसले दुई वटा काम गर्छः (१) हामीलाई नम्र बनाउँछ र परमेश्वरमा थप निर्भर बनाउँछ । (२) हरेकसँग एउटा काँढो भएकाले यसले हामीलाई थप सहनशील र कृपालु बनाउँछ ।हाम्रो जीवनमा भएको काँढो अर्थात् कष्टदायी कुराको पछाडि परमेश्वरको एउटा उद्देश्य छ ।
आत्मिक भोजनः अ्ययूब ५–७ लूका १:११–१८ भजन १०५:३७–४५ उपदेशक ७:९–१२
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



