‘हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् ।’ —लूका ११:१
दुर्लभ इमानदारी देखाउँदै, एक प्रसिद्ध पास्टरले यसो भनेः ‘प्रार्थना नै मेरो सबैभन्दा ठूलो संघर्ष हो…निरन्तर प्रार्थनाको जीवन कायम राख्न कठिन छ, र विशेषगरी यसले कुनै लाभ दिन्छ भन्ने विश्वासलाई कायम राख्न कहिलेकहीँ कठिन बन्छ ।’ हामीमध्ये अधिकांशमा स्वाभाविक रूपमा प्रार्थना गर्ने आदत हुदैन । हामीलाई थाहा छ कि यो एक संवाद हुनुपर्छ, तर अक्सर प्रार्थना चाहिँ यो एकालाप वा मनोवाद जस्तो लाग्छ । हामीसँग दोहोरो कुरा नगर्ने कसैसँग कुरा गर्ने प्रयास गर्नुभन्दा खराब केही पनि हुँदैन । यो कुरा स्वीकार गर्न हामीलाई मन पर्दैन, तर प्रायःप्रार्थनाको बारेमा हामीले वास्तवमै यस्तो सोचिरहेका हुन्छौं, ‘म कसरी प्रार्थना गर्न सक्छु ताकि मैले जे चाहन्छु परमेश्वरले मलाई त्यो दिनुहुन्छ ?’ एक सानो केटालाई उसले हरेक रात प्रार्थना गथ्र्यो कि भनी सोधियो । उसले जवाफ दियो, ‘होइन, कतिपय रात मलाई केही पनि चाहिँदैन ।’ अर्थात् उसले प्रार्थना गर्नु भनेको चाहिँ खाँचो पर्दा माग्ने काम हो भन्ने रूपमा मात्रै बुझेको रहेछ । प्रार्थना भनेको तपाईंले प्रयोग गर्नुहुने विशेष शब्दहरू वा तपाईंले प्रार्थनामा बिताउनुभएको समयको बारेमा होइन । यो त परिचित हुने कामसँग सम्बन्धित छ । यो सम्बन्ध निर्माण गर्ने बारेमा हो । यदि तपाईंसँग कसैसँग कुरा गर्नुपर्ने केही थोक छ भने, तपाईंले सायद यसो भन्नुहुन्छ, ‘हामीले कुरा गर्न सक्ने ठाउँ खोज्नु पर्छ ।’ तपाईं आफ्नो कुरा सुनिएको छ, अनि तपाईंले अर्को व्यक्तिले भनेको कुरा पनि सुन्नुहुन्छ भन्ने कुरा निश्चित गर्न चाहनुहुन्छ । जब तपाईंले यस संसारको कोलाहललाई हटाउनुहुन्छ, तपाईंले परमेश्वरलाई सुन्न सक्ने आफ्नो क्षमतालाई उच्चतम तुल्याउनुहुन्छ । यसले देखाउँछ कि तपाईंले उहाँसँगको आफ्नो सम्बन्धलाई गम्भीर रूपमा लिइरहनुभएको छ । भजनकारले भनेका छन्, ‘जो परमप्रधानको शरणमा वास गर्दछ, त्यो मानिस सर्वशक्तिमान्को छत्रछायामुनि रहन्छ’ (भजन ९१:१) । के तपाईंसँग त्यस्तो ‘शरणस्थान’ वा गोप्य ठाउँ छ जहाँ तपाईं परमेश्वरसँग एक्लै हुन सक्नुहुन्छ ? यो जुनसुकै ठाउँ पनि हुन सक्छ । तर तपाईंलाई एउटा त्यस्तो ठाउँ चाहिन्छ जहाँ तपाईं जान सक्नुहुन्छ र तपाईं परमेश्वरसँग गम्भीर हुनुहुन्छ भन्ने कुरा देखाउनुहुन्छ ।
आत्मिक भोजनः उत्पत्ति ३२–३४ यूहन्ना १६:१–१८ भजन १३० हितोपदेश ३१:२८–३१
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



